झापा । झापाको कन्काई ६ मा वडाध्यक्ष पदको लागि मतदान शुरु भएको छ । आज बिहान ७ बजेदेखि मतदान शुरु भएको हो ।

 

मतदानस्थल तोकिएको कन्काई ६ स्थित चम्पापुर माध्यमिक विद्यालयको दुईवटा केन्द्रमा मतदान शुरु भएको जिल्ला निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए । त्यहाँ २०५८ जना मतदाता रहेका छन् भने ९ जनाले उम्मेद्वारी दिएका छन् ।

 

जनप्रतिनिधिको मृत्यु वा राजीनामाका कारण रिक्त बनेका स्थानीय तहका पदमा आइतबार उपनिर्वाचन भइरहेको हो । नगरपालिका प्रमुख १, उपप्रमुख १, गाउँपालिका अध्यक्ष २, उपाध्यक्ष ४ तथा वडाध्यक्ष ३३ गरी ४१ पदका लागि उपनिर्वाचन गरिएको हो ।

 

निर्वाचन आयोगका अनुसार उपनिर्वाचनमा २० राजनीतिक दलका र स्वतन्त्रसमेत गरेर ३७६ जना उम्मेदवार छन् । उपनिर्वाचन हुने स्थानीय तहमा २ लाख २६ हजार ७९९ मतदाता छन् ।

 

१६२ मतदानस्थलमा २९३ मतदान केन्द्र बनाइएको छ । मतदानका लागि आज बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म समय तोकिएको छ । मत हाल्न मतदाता परिचयपत्र लिएर मतदान केन्द्रमा पुग्नुपर्नेछ ।

 

मतदाता परिचयपत्र नरहे परिचय खुल्ने नागरिकता, राष्ट्रिय परिचयपत्र, सवारी चालक परिचयपत्र, राहदानी वा स्थायी लेखा नम्बर भएको परिचयपत्रका आधारमा मतदान गर्न मिल्ने आयोगले जनाएको छ ।