झापा । झापा गाउँपालिकामा हिजो साँझ एक बृद्धाको हत्यामा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । मोबाइल लुट्नकै लागि झापा गाउँपालिकाकी बृद्धा फूलमाया मुर्मूको हत्या भएको थियो ।

 

हिजो अन्दाजी ४ः३० बजे झापा गाउँपालिका ६ पुष्पाञ्जली टोल बस्ने ८३ वर्षीया मुर्मू घरमा एक्लै भएका बेला लुटपाट गर्ने मनसायले आएका झापा ७ का २८ वर्षीय अजय यादव र शिवसताक्षी ७ का २४ वर्षीय अशोक यादव पक्राउ परेका हुन् ।

 

उनीहरुले कलको ह्याण्डिल र फरुवाले प्रहार गरी हत्या गरेको बताइएको छ । उनीहरुले मुर्मूको घरबाट एउटा सामसुङ र अर्को कलर्स मोबाइल लुटेका थिए । दुवैले मुर्मूको टाउको र चिउँडोमा प्रहार गरी हत्या गरिसकेपछि गाईवस्तुले घाँस खाने डुँडमा परालले छोपेर बृद्धाको शव लुकाएका थिए ।

 

जिल्ला प्रहरी कार्यालय झापा तथा मातहतबाट खटिएको प्रहरी टोलीले नेप्रदेश प्रहरी कार्यालय केनाइन शाखा धरानबाट आएको कुकुरसहितको टोलीको सहयोगमा अनुसन्धान गर्ने क्रममा दुवै जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी कृष्णकुमार चन्दले बताए ।

 

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयमा राखेर थप अनुसन्धान भइरहेको जानकारी दिए । पक्राउ परेका दुवैजना लागूऔषध दुर्व्यसनी भएको बताइएको छ । लागूऔषधकै लागि उनीहरुले लुटपाट गरेको हुनसक्ने स्थानीयले बताएका छन् ।