झापा । प्रधानमन्त्री केपी शर्मा ओलीलाई कालो झण्डा देखाउने राष्ट्रिय स्वतन्त्र पार्टीका १८ जना कार्यकर्ता पक्राउ परेका छन् ।
आज दिउँसो २ः५५ बजे गौरादह ५, स्थित स्कुलचौनमा जग्गाधनी दर्ता प्रमाणपूर्जा वितरण कार्यक्रमबाट गौरादह बजारमा आयोजित ताजपुरिया समाज कल्याण परिषदको २९औं स्थापना दिवस कार्यक्रममा सहभागी हुने कार्यक्रम थियो ।
सोही कार्यक्रममा आउँदा प्रधानमन्त्री ओलीलाई गौरादह बजारस्थित झापा बेकरी हाउस अगाडि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरुले कालो झण्डा देखाएका थिए । त्यसक्रममा रास्वपाका गौरादह नगर सभापति जगत अधिकारीसहित १८ जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेहरुमा पार्टीका नगर सभापति अधिकारी, नगर सचिव प्रविण बस्नेत, क्षेत्र नं. ५ की क्षेत्रीय सदस्य निर्मला शर्मा, दमक नगर उपसभापति प्रतिमा दाहाल, गौरीगंज गाउँपालिका सचिव उद्धवप्रकाश गौतम, दमक नगर सचिव प्रविण पाठक, गौरादह ७ का वडा सभापति ऋषिराम प्रसाई, पार्टी सदस्यहरु अनिश सुवेदी,टंक खनाल, गणेशराज पाण्डे, छत्रपति भट्टराई, छत्रबहादुर कार्की रहेका छन् ।
यसैगरी, गौरादह ३ का वडा सभापति कमल बस्नेत, गौरादह ५ का वडा सभापति भवानीप्रसाद फुयाल, पार्टी सदस्य बाबुराम दाहाल, नगर सदस्य खेमप्रसाद लुइँटेल, गौरादह ४ का वडा सचिव दिपक सापकोटा र वडा नं ४ का सभापति युवराज खड्का रहेका छन् । उनीहरुलाई इलाका प्रहरी कार्यालय गौरीगंजमा राखिएको छ ।