पोखरा । करिब तीन महिनादेखि थुनामा रहेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामुक्त गर्न कास्की जिल्ला अदालतले आदेश दिएको छ।
न्यायाधीश नीतिज राईको इजलासले उनलाई ६५ लाख रुपैयाँ धरौटी लिएर थुनामुक्त गर्न आदेश दिएको अदालतका सूचना अधिकारी सुरज अधिकारीले बीबीसीलाई जानकारी दिए। ‘धरौटी रकम बुझाउनुभयो भने उहाँहरू आजै रिहा हुन सक्नुहुन्छ’, अधिकारीले भने।
लामिछानेसहित ६३ जनालाई प्रतिवादी बनाइएको सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा अर्का प्रतिवादी छविलाल जोशीलाई ८८ लाख रुपैयाँ धरौटी मागिएको छ।
गत कात्तिक २ गते काठमाण्डूस्थित राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेविरुद्ध गत पुस ७ गते कास्की जिल्ला अदालतमा सहकारी ठगी, सङ्गठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर भएको थियो।
बुधबार थुनछेक बहस सकिएपछि न्यायाधीशले रवि लामिछानेलाई बोल्न समय दिएका थिए। त्यसक्रममा लामिछानेले आफूलाई थुना बाहिरै बसेर मुद्दा लड्ने अवसर दिन माग गरेको विवरण आएका थिए।
सहकारी संस्थाको बचत अपचलनमा लामिछानेसहित ग्यालेक्सी टेलिभिजनका तत्कालीन सञ्चालकहरू जीबी राई र छविलाल जोशीविरुद्ध पनि मुद्दा दर्ता भएको छ। अधिकारीहरूका अनुसार पोखराको सूर्यदर्शन सहकारी ठगीमा लामिछाने, राई र जोशी सहित ६३ जना प्रतिवादी छन्।
लामिछानेलाई फरक फरक कसुरमा छुट्टाछुट्टै सजाय माग गरिएको अधिकारीहरूले बताएका छन्। अभियोजन पत्रमा सम्पत्ति शुद्धीकरण मामिलामा लामिछानेले २७ करोड ८९ लाख ४४ लाख रुपैयाँ गैरकानुनी ढङ्गले आर्जन दाबी गरिएको छ।
लामिछाने पोखराबाट धरौटीमा रिहा भए पनि पुनः पक्राउ पर्ने अवस्था रहेको अभियोजनकर्ताहरूले बताएका छन्। काठमाण्डूको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनमा जिल्ला सरकारी वकिलको कार्यालयले लामिछानेसहितलाई विपक्षी बनाएर काठमाण्डू जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ।