
झापा । दुई दिनअघि पिकअपको ठक्करबाट घाइते भएका झापा शिवसताक्षी ९ का बालकको उपचारका क्रममा मृत्यु भएको छ ।
आज दिउँसो २ः०५ बजे १२ वर्षीय आदर्श खनालको उपचारको क्रममा बीएण्डसी अस्पताल बिर्तामोडमा मृत्यु भएको हो । चैत १ गते साँझ ५ बजे शिवसताक्षी नगरपालिका वडा नम्बर ११ दूधे चौकनजिक भित्री सडकखण्डमा पिकअपले खनाललाई ठक्कर दिएको थियो ।
प्रहरीका अनुसार दूधेबाट शिवगञ्जतर्फ जाँदै गरेको प्र १-०१-००१ च ८९५० नम्बरको पिकअपले सोही दिशातर्फ जाँदै गरेका साइकलयात्री शिवसताक्षी नगरपालिका ९ बस्ने फणिन्द्र खनालका छोरा आदर्शलाई ठक्कर दिएको थियो ।
गम्भीर घाइते आदर्शलाई बीएण्डसी अस्पताल लगिएको थियो भने दुर्घटनापछि पिकअप चालक फरार भएका थिए । फरार रहेका पिकअप चालक शिवसताक्षी ११ बस्ने २७ वर्षीय सागर भनिने सिटु पोद्धारलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।