झापा । भारतबाट ठूलो मात्रामा लागूऔषध ब्राउनुसुगर नेपाल भित्र्याउन खोज्ने दुई भारतीय नागरिकलाई सशस्त्र प्रहरीले पक्राउ गरेको छ ।
भारत पश्चिम बंगाल उत्तर दिनाथपुर जिल्ला दाकोला गिराम बस्ने ३२ वर्षीय सम्साद खान र सोही ठाउँ २७ वर्षीय साहेव अली पक्राउ परेका हुन् । उनीहरुको साथबाट ९३ ग्राम ६४० मिलिग्राम (प्लाष्टिकसहित) ब्राउन सुगर फेला परेको थियो ।
उनीहरुले पाइन्टभित्र लुकाई छिपाई सेतो प्लाष्टिकमा ब्राउनसुगर ल्याएका थिए । गएराति ११ बजे मेचीनगर ६ स्थित मेची खोलाबाट लुकीछिपी नेपालतर्फ पैदल आउँदै गरेको अवस्थामा सशस्त्र प्रहरी बल, नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकरभिट्टाबाट खटिएको टोली, सशस्त्र प्रहरीको ल्याब्राडोर जोजो नामको तालिमप्राप्त कुकुर र नेपाल प्रहरी लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय काँकारभिट्टाको संयुक्त टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई चेकजाँच गर्दा ब्राउन सुगर फेला परेको थियो । लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा बुझाइएको छ ।