काठमाडौं । तीनकुनेको भवनमा लागेको आगोमा जलेर एक जना पत्रकारको मृत्यु भएको छ । सो भवनको छतमा चढेर टेलिभिजनका लागि दृष्य खिचिरहेका सुरेश रजकको मृत्यु भएको हो ।

 

राजावादीहरुले तीनकुनेमा गरेको प्रदर्शनमा प्रहरीसँग झडप भएपछि एक भवनमा आगजनी भएको थियो । सो घटनालगत्तै रजक सम्पर्कविहीन भएका थिए ।

 

एभिन्युज टेलिभिजनका सम्पादक शिव दाहालले भने, ‘रिपोर्टिङमा गएको साथी सम्पर्कविहीन हुनुहुन्छ । अस्पतालतिर पनि भएको जानकारी छैन ।’

 

एभिन्युज टेलिभिजनका अर्का एक पत्रकारले सो घरभित्र आफ्नो साथी भएको जानकारी प्रहरीलाई दिँदादिँदै पनि उद्धार नभएको बताए । अहिले घटनास्थलमा एभिन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकर्णिकार पुगेका छन् ।

 

शुक्रवार दिउँसो आगजनी भएको घर नजिकै शव भेटिएको उपत्यका प्रहरी कार्यालयका एआईजी टेकबहादुर तामाङले बताएका थिए । उनले भनेका थिए, ‘पुरुषको शव भेटिएको छ, हामी पहिचान खुलाउने प्रयास गर्दै छौं ।’