काठमाडौं । राजसंस्था पुनर्स्थापनका लागि बनेको संयुक्त जनआन्दोलन समितिका जनकमाण्डर दुर्गा प्रसाईंले आफूलाई पक्राउ गर्न प्रहरी आइरहनु नपर्ने बताएका छन् । प्रहरीले जहाँ बोलाउँछ त्यहीँ आउने उनको भनाइ छ ।
सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले भनेका छन्, ‘साथीहरु भर्खरै मलाई पक्राउ गर्ने बारेको सूचना प्राप्त भएको छ । मलाई पक्राउ गर्न प्रहरी आइरहन पर्दैन, जहाँ बोलाउँछौ त्यही आउँछु । अब म थुनिएर आन्दोलन रोकिदैन किन कि दुर्गा अब व्यक्ति हैन विचार हो, अभियान हो ।’
उनले आजको आन्दोलनमा नेपाल सरकारले एक युवाको हत्या गरेको पनि उल्लेख गरेका छन् । आजको अप्रिय अवस्था सरकारकै दमनले गर्दा उत्पन्न भएको उनको आरोप छ ।
‘हामी वैदिक विधीपूर्वक पूजा अर्चना गरेर आमाको आशिर्वाद लिएर शान्तिपुर्णरुपमा कार्यक्रमस्थल पुग्दा अश्रु ग्यास प्रहार भैरहेको थियो, त्यो देखेपछि कुन चाहि नेपालीको रगत न उम्लदो हो ?’ उनले लेखेका छन् ।’
प्रदर्शनपछि सबै दाेष थाेपर्दै प्रहरीले पक्राउ गर्ने समाचार बाहिरिएपछि उनले स्टाटस लेख्दै अगाडि भनेका छन्, ‘हामी तोडफोड गर्न, आगजनी गर्न, प्रहरी कुट्न गएका थिएनौं, हामी त शान्तिपूर्णरुपमा सभा, आन्दोलन र घोषणा सभामा सहभागी हुन गएका थियौं, दमन किन ? जुन अप्रिय अवस्था बन्यो त्यो सबै सरकारको दमनको कारण भएको हो, त्यसको क्षतिपूर्ति सरकारले व्यहोर्नु पर्नेछ ।’
