इलाम। प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित इलाममा एकैदिन पाँच जना पक्राउ परेका छन् । प्रहरीले अपरेशन नै सञ्चालन गरेर उनीहरुलाई पक्राउ गरेको हो ।

 

यसक्रममा जिल्ला प्रहरी कार्यालय इलामले इलाम नगरपालिकाको विभिन्न स्थानमा छापा मारेको थियो । प्रहरी निरीक्षक संजिव बोगटीको कमाण्डमा खटिएको टोलीले इलाम नगरपालिकाको संभावित स्थानमा पुगेर घरकोठा तथा शरीर खानतलासी गरेको थियो ।

 

त्यसक्रममा लुकाईछिपाई राखेको ३ ग्राम २५० मिलिग्राम ब्राउनसुगर र विभिन्न कम्पनीको ५ थान मोबाइल बरामद भएको सूचना अधिकारी तथा डीएसपी मानबहादुर राईले जानकारी दिए । उनका अनुसार उनीहरुलाई जिल्ला प्रहरी कार्यालय इलाममा ल्याई थप अनुसन्धान भइरहेको छ ।

 

पक्राउ पर्नेहरुमा इलाम ४ पिपलबोटे बस्ने २४ वर्षीय सन्तोष भनिने सन्तवीर तामाङ, वडा ६ बस्ने २९ वर्षीय नानु भनिने विजय नेम्बाङ लिम्बू, सन्दकपुर गाउँपालिका माबु बस्ने ३० वर्षीय चेतबहादुर गुरूङ, इलाम ७ बस्ने २७ वर्षीय सुप्रिम देवान र इलाम ८ जिरोमा गाडी ग्यारेज सञ्चालन गर्ने बिर्तामोड ५ का ३१ वर्षीय रोहित आलम रहेका छन् ।