झापा । झापाको बिर्तामोडबाट कचनकवलका युवायुवती लागूऔषध ब्राउन सुगरसहित पक्राउ परेका छन् । उनीहरुलाई प्रहरीले मंगलबार पक्राउ गरेको हो ।
बिर्तामोड नगरपालिका ८ नारायणकृष्ण टोलस्थित कविता रिमालको घरमा भाडामा बस्दै आएका कचनकवल ७ का २६ वर्षीय खड्गसिंह माझी र सोही ठाउँकी २० वर्षीय मुस्कान भुजेल ब्राउन सुगरसहित पक्राउ परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मंगलबार दिउँसो ४ बजे कोठामा अवैधरुपमा लागूऔषध कारोबार गरिरहेको भन्ने सूचनाको आधारमा प्रहरी टोली खटिएर चेकजाँच गर्दा भाडामा बसेको भुइँतलामा रहेको ओछ्यानको सिरानीमुनि प्लास्टिकसहित ६ ग्राम ३२० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो ।
पक्राउ परेका दुबैलाई लागूऔषधसहित नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय बिर्तामोडमा राखी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।