शनिश्चरे । झापा अर्जुनधारा ८ निवासी अर्जुन राजवंशीलाई प्रहरीले बुधबार राति प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित पक्राउ गरेको छ ।
प्रहरी चौकी शनिश्चरेका इन्चार्ज प्रहरी नायव निरीक्षक उमेश श्रेष्ठको कमाण्डमा खटिएको टोलीले राति करिब १०ः३० बजे लागुऔषध बिक्री वितरण भइरहेको गोप्य सूचनाको आधारमा राजवंशीलाई ब्राउन सुगरसहित पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय झापाका अनुसार प्रहरी टोलीले खानतलासी लिँदा स्थानीय ३२ वर्षीय राजवंशीको साथबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगर प्लास्टिकसहित ७३० मिलिग्राम र घर बाहिर दाउरा राख्ने कटरामा लुकाइराखेको प्लास्टिकसहित ३ ग्राम ६३० मिलिग्राम बरामद भएको थियो ।
यसैगरी, उनको साथबाट ९ वटा एम्पुल र २७ हजार ६७० रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ । बरामद उक्त लागुऔषधसहित निजलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय अनारमनीमा राखी थप अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ ।
झापामै पछिल्लो समय ब्राउनसुगरको कारोबारी बढ्दै गएको अवस्थामा शनिश्चरेमा पनि प्रयोगकर्ता बढ्दै गएको छ । यसअघि पनि प्रहरीले कारोबारीलाई पक्राउ गरी कारबाही गरेको थियो भने प्रयोगकर्तालाई सुधार केन्द्र पठाएको थियो ।