झापा । घरेलु कामदार बालिकामाथि यौनजन्य क्रियाकलाप गरेको अभियोगमा पूर्पक्षका लागि थुनामा रहेका बिर्तामोड नगरका पूर्व प्रमुख ध्रुव शिवाकोटीलाई धरौटीमा छोड्न उच्च अदालतले आदेश दिएको छ ।
उच्च अदालत विराटनगरको इलाम इजलासले बिहीबार २० लाख धरौटी लिएर शिवाकोटीलाई छोड्नका लागि आदेश दिएको हो । न्यायाधीश किरणकुमार पोखरेल र रेखा पाण्डे थापाको संयुक्त इजलासले सो आदेश दिएको हो ।
उच्चको सो आदेशपछि शिवाकोटी आइतबार थुनामुक्त हुने भएका छन् । आज कागजपत्र मिलाउन समय नपुगेको, भोलि कानुन दिवस र पर्सी शनिवारको विदा परेकाले आइतवार थुनामुक्त हुने शिवाकोटीका तर्फबाट वकालत गर्दै आएका अग्रज कानुन व्यवसायी अशोक पोखरेलले बताए ।
यसअघि झापा जिल्ला अदालतले शिवाकोटीलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । त्यसविरुद्ध अपिल गर्दै शिवाकोटी उच्च अदालत गएका थिए । झापा जिल्ला अदालत स्रोतले शिवाकोटीसँग २० लाख धरौटी लिएर तारिखमा छोड्न उच्च अदालतले आदेश दिएको पुष्टि गरेको छ ।