झापा । दमकमा स्कुटरलाई ठक्कर दिई फरार भएका ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उक्त दुर्घटनामा स्कुटर चालक अंकित लिम्बूको ज्यान गएको थियो ।

 

गएराति १०ः१५ बजे दमक १ स्थित रबि स्टेन्डको गेटमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको ग १ ख ६४३७ नम्बरको ट्रकले फाल्गुनन्द चोकबाट बेलडाँगीतर्फ जाँदै गरेको मे ८ प ४५५८ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।

 

दुर्घटनामा स्कुटर चालक ताप्लेजुङ फक्ताङलुङ गाउँपालिका ५ पापेथोक बस्ने २२ वर्षीय अंकित लिम्बूको घटनास्थलमा नै मृत्यु भएको थियो । लिम्बू दमक थकाली किचन घरका स्टाफ हुन् ।

 

स्कुटरको पछाडि सवार पाँचथर मिक्लाजुङ ४ बस्ने ४२ वर्षीया सिर्जना राई गम्भीर घाइते भएकी छन् । घाइतेलाई दमक अस्पतालमा सामान्य उपचारपश्चात् थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड ल्याइएको छ ।

 

ठक्कर दिने ट्रक चालक इलाम सन्दकपुर ३ बस्ने २५ वर्षीय रोशन केरुङ लिम्बू फरार भएका थिए । इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले ट्रक चालक लिम्बूलाई बिर्तामोड ५ स्थित माता मन्दिर नजिकबाट आज बिहान ९ः५५ बजे नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताए ।