पक्राउ परेका व्यक्तिहरू ।

झापा । झापामा फेरि ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषध ब्राउन सुगसहित तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेहरुमा दुईजना भारतीय र एकजना नेपाली नागरिक रहेका छन् ।

 

हिजो साँझ ५ः३० बजे गौरीगञ्ज बजारस्थित हुलाकी सडकखण्डमा महेन्द्र चौकबाट गौरीगञ्जतर्फ आउँदै गरेको बीआर ३७ एजे ९९५२ नम्बरको मोटरसाइकललाई इलाका प्रहरी कार्यालय गौरीगञ्जबाट प्रहरी निरीक्षक भुवनबाबु खड्काको कमाण्डमा खटिएको प्रहरी टोलीले शंका लागेर चेकजाँच गरेको थियो ।

 

मोटरसाइकल चालक भारत किसनगंज जिल्ला खनियाबाद ७ फुलबरिया बस्ने १९ वर्षीय मोनाजिर आलम, खनियाबाद ५ फत्तेपुर बस्ने ५८ वर्षीय भोला ठाकुर र दमक ५ बस्ने अन्दाजी ४१ वर्षीय संजय भनिने भुपेन्द्र राईलाई पक्राउ गरेको हो ।

 

ठाकुरलाई खानतालसी गर्दा कम्मरमुनि अगाडि जाङमा कालो र सेतो प्लाष्टिकमा पोको बनाई लुकाइराखेको अवस्थामा प्लाष्टिकसहित १०२.८१० ग्राम ब्राउनसुगर, नाइट्राजेपाम १०० वटा ट्याव्लेट र कोडिन फोस्फेट एण्ड ट्रिप्रोलिडाइन हाइड्रोक्लोराइड सिरप २ बोतल बरामद भएको थियो ।

 

राईको शरीर तथा उनी सवार ना १ च ९१६२ नम्बरको कार खानतालासी गर्दा नेपाली नगद २ लाख ४३ हजार ५००, लागूऔषध नापतौल गर्न प्रयोग गर्ने डिजिटल तराजु फेला परेको थियो । तीनै जनालाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय गौरीगञ्जमा राखिएको प्रहरीले जनाएको छ ।