खुदुनाबारी, (झापा) । वन्यजन्तुहरुका लागि पिउने पानीको व्यवस्थापन गर्दै झापाको अर्जुनधारा २ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहले वन क्षेत्रमै पोखरीको निर्माण गरेको छ ।

 

समूहको संरक्षित क्षेत्र ब्लक नम्बर ४ मा रहेको शिकारी खोल्सीमा वन्यजन्तुका लागि पिउने पानीसँगै आहाल खेल्नका लागि पनि पोखरी निर्माण गरिएको हो । ‘एक सामुदायिक वन, एक संरक्षण पोखरी’को अवधारणाअन्तर्गत पोखरी निर्माण गरिएको समूहका अध्यक्ष खगेन्द्र कोइरालाले बताए ।

 

उक्त पोखरी श्रमदानसहित ५ लाख ७२ हजार ४६३ रुपैयाँको लागतमा निर्माण गरिएको हो । जसमा डिभिजन वन कार्यालयबाट पोखरी निर्माणका लागि ५ लाख १५ हजार प्राप्त भएको थियो । जसमा समूहको ५७ हजार ४६३ रुपैयाँ खर्च भएकाे जनाइएकाे छ ।

 

प्रदेश वन विकास व्यवस्थापन कार्यक्रमअन्तर्गत गत वैशाख १५ गते डिभिजन वन कार्यालय झापा र समूहबीच सम्झौता भएर जेठ १५ गते पोखरी निर्माण कार्य सम्पन्न गर्नुपर्ने भए पनि यसअघि नै निर्माण गरिएको भन्दै समूहका अध्यक्ष कोइरालाले खुसी व्यक्त गरे ।

 

करिब ५ कठ्ठा क्षेत्रफलमा फैलिएको पोखरीको लम्बाई ६५ मिटर र चौडाई ३१ मिटर रहेको छ । ‘रिचार्ज पोखरी’ नाम दिइएको पोखरी क्षेत्रमा समूहले टहरा, ट्रि हाउस, वनभोज स्थल आदि निर्माण गरेर त्यसलाई पर्यापर्यटनसँग जोड्ने लक्ष्य लिइएको समूहकी उपाध्यक्ष लक्ष्मी कन्दङवाले जानकारी दिइन् ।

 

समूहका सहसचिव प्रेमप्रसाद घिमिरेको संयोजकत्वमा पोखरी निर्माण उपभोक्ता समिति गठन गरिएको थियो । पोखरी निर्माण भएपछि शुक्रबार जनप्रतिनिधि, स्थानीय राजनीतिक दलका प्रतिनिधि, सरोकारवाला र समूहका पदाधिकारी, सदस्यहरुको टोलीले अनुगमन गरेको छ ।

 

 

टोलीमा वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, वडा सदस्य प्रेमबहादुर उपरकोटी, नेपाली काँग्रेस पार्टी सभापति चुँडामणि फूँयाल, नेकपा एमाले पार्टी अध्यक्ष हरिप्रसाद घिमिरे, वेलटार खानेपानी तथा सरसफाई उपभोक्ता समितिका अध्यक्ष योगेन्द्र आचार्य, सल्लाहकारद्वय चन्द्र आचार्य र लीलानाथ खनाल, सामाजिक व्यक्तित्व पूण्यप्रसाद ओझालगायतको सहभागिता रहेको थियो ।

 

यसैबीच, समूहका अध्यक्ष कोइरालाको अध्यक्षता र वडाध्यक्ष श्रेष्ठको प्रमुख आतिथ्यमा निर्माण सम्पन्न भएको पोखरीको हिसाब सार्वजनिक गरिएको छ । समूहका अध्यक्ष कोइरालाले पोखरीको आवश्यकता र औचित्यसँगै निर्माणमा प्रयोग भएको विभिन्न सामग्रीहरुको विवरण प्रस्तुत गरेको कार्यक्रम समूहका सचिव नरेन्द्रप्रसाद गौतमले सञ्चालन गरेका थिए ।