झापा । मनसुन सुरु हुनु अगावै पूर्वपश्चिम राजमार्गको पूर्वीखण्डमा निर्माणाधीन एसियन हाइवेको डाइभर्सनको काम सम्पन्न गरिसक्न काँकडभिट्टा-लौकही सडक योजना कार्यालय (पूर्वी खण्ड) दमकले निर्देशन दिएको छ ।
एशियाली विकास बैंकको सहयोगमा १० अर्बको लगानीमा एसियन हाइवेको स्तरोन्नति भइरहेको छ। निर्माण सम्बन्धी ठेक्का लिएको निर्माण कम्पनीलाई डाइभर्सनको काम चाँडो सक्न शुक्रबार पत्राचारमार्फत निर्देशन दिइएको कार्यालयका आयोजना प्रमुख ई. सुनिलबाबु पन्तले बताए।
मनसुनी वर्षा सुरु भएपछि सडक निर्माणका क्रममा बनाइएका डाइभर्सन बाढीले बगाएर यातायातसमेत अवरुद्ध हुनसक्ने जोखिम बढेकाले डाइभर्सनको काम छिटोभन्दा छिटो सम्पन्न गर्न आवश्यक रहेको उनको भनाइ छ ।
बर्खामा पूर्वपश्चिम राजमार्गमा आजतजावत नरोकिने गरी मुख्य सडकबाटै यातायात सञ्चालन गर्न सकिने वातावरण तयार पारिने जनाउँदै उनले निर्माणको ठेक्का लिएको निर्माण कम्पनीले गरिरहेको कामको प्रगति अनुगमन भइरहेको बताए। हालसम्म सडक निर्माणमा १९ प्रतिशत र पुल कल्भर्ट निर्माणमा १७ प्रतिशतमात्र भौतिक प्रगति भएको छ ।
निर्माणमा विलम्ब नगर्न पटकपटक पत्राचार गरिरहँदा समेत निर्माण कम्पनीको प्रगति सन्तोषजनक नरहेको उनले बताए। सडक निर्माणमा ढिलासुस्ती भइरहेको र वर्षातमा यातायात नै अवरुद्ध हुनसक्ने जोखिम बढेको भनेर जनगुनासो समेत आइरहेको छ ।