शनिश्चरे । झापा अर्जुनधारामा रहेको सुखानी सहिद स्मृति उद्यानले शुक्रबार विश्व कछुवा संरक्षण दिवस मनाएको छ । विभिन्न क्षेत्रका सरोकारवालासँग उद्यानले कार्यक्रम गरेको हो ।

 

अर्जुनधारा ९ स्थित सालबारीमा रहेका उद्यानमा स्थानीय जनप्रतिनिधि, महिला समूह, वन समूहका पदाधिकारी, सञ्चारकर्मीमाझ कछुवाको उद्दार तथा संरक्षणसम्बन्धी सचेतनामुलक कार्यक्रम आयोजना गरिएको हो ।

 

अर्जुनधारा नगरपालिकाको आर्थिक सहयोगमा आयोजित कार्यक्रममा कछुवा उद्दार तथा संरक्षण केन्द्र अर्जुनधाराका संरक्षक तपिलप्रकाश राईले विभिन्न विषयमा प्रस्तुति दिएका थिए ।

 

विशेषगरी, कछुवाको संरक्षण किन गर्ने ? कछुवाको वर्तमान अवस्था कस्तो छ? अर्जुनधारामा यसको वर्तमानअवस्थाबारे र कछुवा संरक्षण केन्द्रको स्थापनाको बारेमा प्रष्ट पारेका थिए ।

 

उनका अनुसार प्रकृतिको संरक्षण गर्ने सरिश्रृप प्रजातिमा पर्ने कछुवाको उद्दार, संरक्षण, अध्ययन अनुसन्धान गर्ने उद्देश्यले आर्को नेपालसँको सहकार्यमा सन् २०१२ मा संरक्षण केन्द्रको स्थापना भएको थियो ।

 

विश्वमा कछुवाका ३६५ प्रजातिका कछुवा रहेका छन् । अर्जुनधाराको संरक्षण केन्द्रमा १० प्रजातिका ६० वटा कछुवाहरु संरक्षित छन् । यहाँ कछुवाको संरक्षणसँगै प्रजनन् पनि हुने गरेको छ ।

 

कार्यक्रमको उद्घाटन अर्जुनधाराका नगर प्रमुख बलदेवसिंह गोम्देनले गरेका थिए । उनले लोपोन्मुख कछुवाको संरक्षणसँगै नगरले अन्य जीवजन्तुको संरक्षणमा पनि लागिपरेको जानकारी दिए ।

 

उनले वन्यजन्तुको दीगो व्यवस्थापनका लागि यसअघि नगरले पशुपंक्षी बास बगैँचा कार्यक्रम सञ्चालनमा ल्याइसकेको बताए । नगरभित्र रहेका विभिन्न सामुदायिक वन समूहसँगको सहकार्यमा ३ हजारभन्दा बढी बोटबिरुवा रोपण गरिएको बताए ।

 

नगरलाई पर्यापर्यटनसँग जोड्नका लागि विभिन्न कार्यहरु भइरहेको बताउँदै प्रकृतिको संरक्षणमा स्थानीयस्तरबाट भइरहेको पहलमा नगरपालिकाको तर्फबाट पर्यापर्यटनको विकासमा सधैँ सहयोग रहने नगर प्रमुख गोम्देनले प्रतिबद्धता जनाएका छन् ।

 

उद्यानका ज्येष्ठ सदस्य भैरव खड्काको अध्यक्षता तथा सदस्य कमलप्रसाद गुरागाईंको स्वागत रहेको कार्यक्रममा कछुवा संरक्षणमा लामो समय बिताएका तपिलप्रकाश राईलाई सम्मान गरिएको थियो ।

 

उद्यानका व्यवस्थापक रुद्रमणि सुवेदीले सञ्चालन गरेको कार्यक्रममा डिभिजन वन कार्यालय झापाका प्रमुख भरतलाल श्रेष्ठले वन ऐनसम्बन्धी आफ्ना भनाइ राखेका थिए ।