दमक । झापाको दमक ३ स्थित बेलडाँगी भुटानी शरणार्थी शिविरबाट प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
शनिबार राति ९ः३० बजे लागुऔषध बिक्री वितरण भइरहेको सूचना पाएपछि प्रहरी चौकी बाघखोरबाट खटिएको प्रहरी टोलीले सेक्टर सी थ्री, हट नम्बर ३३८ बस्ने ४० वर्षीय सनवीर तामाङको घरमा खानतलासी लिएको थियो ।
सोही क्रममा तामाङको साथबाट प्लाष्टिकसहित ५३० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । तामाङकै घरबाट भाग्दै गरेको अवस्थामा सेक्टर सी फोर, हट नम्बर ५१६ बस्ने १९ वर्षीय रोमन गुरुङलाई पनि नियन्त्रणमा लिई अनुसन्धानको लागि इलाका प्रहरी कार्यालय दमकमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।