झापा । झापाको मेचीनगरस्थित कालिका सिमसारमा लागूऔषध खरिद गर्न आएका सेवनकर्ता ४३ जनालाई प्रहरीले पक्राउ गरेको छ । यस्तै, लागूऔषध खरिदबिक्री गर्ने २ जना पनि पक्राउ परेका छन् ।
हिजो साँझ अन्दाजी ६ बजे मेचीनगर ११ स्थित कालिका सामुदायिक वनमा इप्रकार्यालय धुलाबारीबाट प्रनि पाण्डवकुमार राजवंशी, प्रहरी चौकी चारआलीबाट प्रनानि प्रमोद रेग्मी, जिप्रका झापाबाट प्रनि बिजय चौहान र लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट प्रनानि कुमार सोमेश लामिछानेको कमाण्डमा खटिएको स्वीप अपरेशन टोलीले ४३ जना लागूऔषध सेवनकर्तालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरु सबै पुरुष हुन् । उनीहरु अन्दाजी १५ वर्षदेखि ४० वर्ष उमेर समूहका छन् । लागूऔषध कारोबारीहरु लागूऔषध बेच्न आएपछि उनीहरु किन्न भेला भएका थिए । पक्राउ पर्नेहरु लागूऔषध सेवनकर्ताहरु हुन् ।
कारोबारीहरु भाग्न सफल भएका थिए । यसैबीच, प्रहरीले दुई जना कारोबारीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज मेचीनगरबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेहरुमा मेचीनगर ११ का १८ वर्षीय सनिल मेचे र मेचीनगर १२ का २५ वर्षीय अजय मेचे रहेका छन् । उनीहरुको साथबाट ब्राउनसुगर, विभिन्न लागुऔषध बरामद गरिएको प्रहरीले जनाएको छ ।
मेचेद्वयसँगै हिजो पक्राउ परेका ४३ जनालाई आवश्यक कारबाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको छ । उनीहरुले प्रयोग गरेका १४ वटा मोटरसाइकल, एउटा अटो र एउटा मारुती भ्यान बरामद भएको प्रहरी स्रोतले जनाएको छ ।