झापा । बुद्धशान्ति गाउँपालिकालाई कार्यथलो बनाएर पत्रकारिता गरिरहने सक्रिय पत्रकार तथा सञ्चारकर्मीहरुको बुद्धशान्ति प्रेस क्लबले निःशुल्क दुर्घटना बीमा गरिदिएको छ ।
प्रेस क्लबले संस्थामा आवद्ध २० जना पत्रकारहरुको निःशुल्क सामुहिक दुर्घटना बीमा गरिदिएको हो । प्रेस क्लबको वार्षिक कार्यक्रमअनुसार हरेक वर्ष नविकरण हुनेगरी २० जनाको २० लाखबराबरको दुर्घटना बीमा गरिएको प्रेस क्लबका अध्यक्ष तीर्थराज तिम्सनाले बताए ।
उनले पत्रकारको भौतिक सुरक्षा साथै सम्भावित जोखिमलाई थोरै भए पनि न्युनीकरण गर्न दुर्घटना बीमाले महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरेका छन् ।
ग्रामीण क्षेत्रमा पत्रकारिता गर्ने पत्रकारहरुको पेशागत र भौतिक सुरक्षामा प्रेस क्लब गम्भीर रहेको बताउँदै प्रेस क्लबका उपाध्यक्ष नारायण अर्यालले पत्रकारको दुर्घटना बीमा अपरिहार्य रहेको बताए ।
बीमाका लागि नेपाल माइक्रो इन्स्योरेन्सलाई छनोट गरी बीमा सम्झौता गरिएको क्लबका सचिव रोशन भट्टराईले बताएका छन् । बीमा कम्पनीका बिर्तामोड शाखा प्रमुख दिपक काफ्ले र क्लबका अध्यक्ष तिम्सिनाले सम्झौता गरेसंगै बीमासमेत लागू भएको छ ।