शनिश्चरे । किरातीहरुको महान चाड उभौली पर्व झापाको अर्जुनधारामा शनिबार धुमधामका साथ मनाइएको छ । किरात राई यायोक्खा अर्जुनधारा नगर समितिको आयोजनामा उभौली मनाइएको हो ।

 

अर्जुनधारा ९ स्थित नमूना सामुदायिक वनमा रहेको साकेला थान परिसरमा विधिपूर्वक पूजाआजा गरेर यस वर्षको उभौली पर्व मनाइएको छ । किराँत राई यायोक्खा झापाका अध्यक्ष गणेश चाम्लिङ राईले मुन्धुम पार्कको तीन ढुङ्गे चुल्होमा आगो बालेर उभौली कार्यक्रमको उद्घाटन गरे ।

 

साँस्कृतिक विभागका संयोजक सिद्धिमान राईका अनुसार कार्यक्रममा जिल्लाका विभिन्न क्षेत्रबाट आएको १२ वटा साकेला टोलीले आआफ्ना सिली प्रदर्शन गरेका थिए । बालकदेखि बृद्धसम्मले साकेला सिली प्रदर्शनमा सहभागिता जनाएका थिए ।

 

यायोक्खा अर्जुनधाराका अध्यक्ष विजय साम्पाङ राईको अध्यक्षता र सचिव सिंहबहादुर चाम्लिङ राईको सञ्चालन रहेको कार्यक्रममा ज्येष्ठ नागरिक लालमाया राई, भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने दाताद्वय कर्णबहादुर तामाङ र नरेन्द्र कोयु राईलाई सम्मान गरिएको थियोे ।

 

यायोक्खाकी वरिष्ठ उपाध्यक्ष भूपा थुलुङ राईले स्वागत गरेको कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गाेम्देन, राई विद्यार्थी प्रतिनिधि अर्जुनकुमार राई, पूर्व प्रमुख प्रशासकीय अधिकृत गीताकुमारी राई, जनजाति अग्रजहरू कर्ण तामाङ, भीमकुमार श्रेष्ठ, शिवकुमार राईलगायतले मन्तव्य राखेका थिए ।