झापा । बुद्धशान्ति ५ को पाँचपोखरी सामुदायिक वनमा जंगली हात्ती मृत फेला परेको दुई सातापछि झापामा फेरि अर्को जंगली हात्ती मरेको छ ।

 

गएराति कमल गाउँपालिका वडा नम्बर ३ मा रहेको रतुवामाई बृक्षरोपण आयोजनाको जंगलमा करेन्ट लागेर जंगली हात्ती मरेको हो । जंगली हात्तीले बिजुलीको फलामको पोलमा धकेल्दा हाइटेन्सन तारमा पर्न गई हात्तीलाई करेन्ट लागेको थियो ।

 

सुँड र एउटा दाह्रा जली हात्ती घटनास्थलमै मरेको प्रहरीले जनाएको छ । प्रहरी चौकी केर्खाबाट प्रहरी टोली खटिएर घटनास्थल सुरक्षित राखेको छ । थप कानुनी प्रक्रियाको लागि डिभिजन वन कार्यालय झापासँग समन्वय भइरहेको र घटनास्थलमा सव डिभिजन वन कार्यालय चुलाचुलीबाट टोली आइसकेको प्रहरीले जनाएको छ ।

 

यस आर्थिक वर्षमा हात्तीको आक्रमणमा परी झापामा चार जनाको ज्यान गइसकेको छ । गत आर्थिक वर्षमा जिल्लामा ४ वटा हात्ती मृत फेला परेका थिए ।