काठमाडौं । यातायात व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका छन् । गण्डकी प्रदेश सरकारले राइड सेयरिङ नियमावली फिर्ता लिने निर्णय गरेसँगै व्यवसायीहरूले आन्दोलनका कार्यक्रम स्थगित गरेका हुन् ।

 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका अध्यक्ष विजय स्वाँरले यसको पुष्टि गरेका छन् । गण्डकी प्रदेशले ल्याएको उक्त नियमावलीका कारण सार्वजनिक यातायात व्यवसायीहरू आन्दोलनमा उत्रिएका थिए ।

 

उनीहरू देशभर सडक ठप्प पारेपछि संघीय सरकारसमेतको उपस्थितिमा वार्ता भएको थियो । गएराति भएको सहमतिको ड्राफ्ट आजै साँझ गण्डकी प्रदेश सरकारसमक्ष प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पठाएको थियो ।

 

सोहीअनुसार, गण्डकी सरकारले एक महिनाका लागि नियमावली स्थगित गरेको जनाएको छ । एक महिनाको समयमा यातायात व्यवसायीसँग वार्ताका लागि बैठक बस्ने र समस्या समाधान गरेर यसलाई पुनः कार्यान्वयन गरिने प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला मन्त्री टकराज गुरुङले बताए ।

 

यातायात व्यवसायीलाई वार्तामा सहभागी हुन तेस्रोपटक आह्वान गरिने उनले बताएका छन् । गण्डकीमा जेठ १६ देखि सार्वजनिक यातायात बन्द छ । सोमबारदेखि व्यवसायीले देशभर सार्वजनिक यातायात सञ्चालन ठप्प पारेका थिए ।

 

संघ सरकार र सिन्डिकेट पक्षधर व्यवसायी सम्मिलित कार्यदलले सोमबार मध्यरातसम्म छलफल गरी राइड सेयरिङ नियमावली स्थगित गर्न गण्डकी सरकारलाई पत्राचार गर्ने सहमति गरेको थियो ।