सुनसरी । विपद् उद्धार अभ्यासका क्रममा बिहीबार सप्तकोशीमा बेपत्ता भएका एकजना सुरक्षाकर्मीको शव फेला परेको छ ।
सशस्त्र प्रहरी जवान झापाका हरेदेव राजवंशीको शव सप्तकोशी किनारमा फेला पारेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिएका छन् ।
बेपत्ता भएका दुई जना सुरक्षाकर्मीको खोजीमा सशस्त्र प्रहरी बलका वरिष्ठ प्रहरी उपरीक्षक नेत्र कार्कीको नेतृत्वमा ३५ सदस्यीय टोली परिचालन भएको थियो । उक्त टोलीले बेपत्ता भएका हराइरहेका अर्का प्रहरी जवान डोटीका सुरज साउदको खोजी जारी राखेको छ ।
सप्तकोशी नदीमा अभ्यासको क्रममा दुई गोताखर सशस्त्र प्रहरी बेपत्ता भएका थिए । मनसुनजन्य विपदको पूर्वतयारी स्वरुप प्रदेश स्तरीय विपद सेमुलेशन अभ्यास भइरहेको थियो ।