झापा । बिर्तामोड आसपासका क्षेत्रमा चोरीका घटना बढेसंगै प्रहरीले चोरीमा संलग्नहरुलाई धमाधम पक्राउ गर्न थालेको छ । चोरीको घटनामा संलग्न ३ जना पक्राउ परेका छन् ।

 

गत फागुन २२ गते बिहान अन्दाजी ११ः३० बजे अर्जुनधारा ६ दासपुलस्थित इन्दिरा रिजाल संग्रौलाको घरबाट चोरी गर्नेहरु पक्राउ परेका हुन् । संग्रौलाको घरबाट १० तोला बराबरको सुनको बाला, तिलहरी, सिक्री, मंगलसुत्र, नौगेडी, झुम्का, हिराको औठी,६ तोला बराबरको चाँदीको पाउजु लगायतका गरगहना चोरी भएको थियो ।

 

सो घटनामा संलग्नहरुलाई हिजो पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । पक्राउ पर्नेहरुमा बिर्तामोड २ चारपानेका २८ वर्षीय सुरज राई, चोरीको गर-गहना खरिद गर्ने बिर्तामोड १ नारायण चोकका ४९ वर्षीय अरविन्दकुमार विश्वकर्मा (कालिगढ) र शेरावाली ज्वेलर्स बिर्तामोडका संचालकका छोरा सुभान्सु साह रहेका छन् ।

 

राईले चोरी गरेको गरगहना विश्वकर्मालाई बिक्री गरेका थिए भने विश्वकर्माले साहलाई बिक्री गरेका थिए । चोरी गरेको ६.९९५ तोला सुन गालेर ढिक्का बनाइराखेको अवस्थामा बिर्तामोड ५ हिकोला रोडस्थित शेरावाली ज्वेलर्सबाट बरामद भएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष राईले बताए ।

 

उनीहरुलाई झापा जिल्ला अदालतबाट ४ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरी निरीक्षक राईले जानकारी दिए । यसअघि जेठ २२ गते बिर्तामोडमा चोरीमा संलग्न तीनजना पक्राउ परेका थिए ।