झापा । हिजो साँझ वर्षासंगै परेको चट्याङले लागेर झापामा दुईजना घाइते भएका छन् भने एकवटा गाई मरेको छ ।

 

साँझ ६ः१० बजे बुद्धशान्ति गाउँपालिका ४ स्थित सट्टाभर्ना बस्ने ६० वर्षीय पुण्य पौडेल आफ्नै गाईगोठमा काम गर्ने क्रममा हावाहुरीसहित आएको चट्याङ लागेर उनी घाइते भएका छन् । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोडमा ल्याइएको छ । उनको दुबै आँखा र दाहिने हातमा चोट लागेको छ ।

 

सोही समयमा शिवसताक्षी नगरपालिका वडा नम्बर ७ टेक्रा बस्ने ४४ वर्षीया डम्बरकुमारी भुजेलको घरनजिकै रहेको गोठमा बाँधिराखेको एउटा गाई वर्षासँगै परेको चट्याङले लागेर घट्नास्थलमै मरेको छ ।

 

घरभित्र बसिरहेकी डम्बरकुमारीसमेतलाई चट्याङले भेटी उनी सामान्य घाइते भएकी छन् । मुखमा सामान्य जलेको डम्बरकुमारीको स्थानीय मेडिकलमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।