झापा । मोरङदेखि प्रेमी बोलाएर पोखराका एक सुनचाँदी व्यवसायीलाई हनी ट्र्यापमा पार्दै रकम बार्गेनिङ गरेको आरोपमा तीन जना पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेहरूमा पोखरा महानगरपालिका १५ टुटुङ्‍गा बस्ने २७ वर्षीया मरियम राई, मोरङको विराटनगर चोक घर भएका ३८ वर्षीय देव लिम्बू र संखुवासभाको सभापोखरी गाउँपालिका २ का ४० वर्षीय टेकबहादुर सुवेदी छन् ।

 

उनीहरूलाई जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको टोलीले पक्राउ गरेको हो । पक्राउ परेकाहरूविरुद्ध कास्की जिल्ला अदालतबाट आपराधिक लाभको कसुरमा ७ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको कास्की प्रहरीका प्रवक्ता तथा डीएसपी हरि बस्नेतले बताए ।

 

पक्राउ परेकी युवती मरियम पोखराकै एक सुनचाँदी पसलमा काम गर्थिन् । आफैंले काम गर्ने पसलका सञ्चालकलाई हनी ट्र्याप शैलीमा फसाएर रकम लिने उदेश्यले थप दुई युवकलाई पोखरा बोलाएको पाइएको डीएसपी बस्नेतले बताए ।

 

पक्राउ परेकामध्ये देव मेरियमको प्रेमी रहेको प्रहरीले बताएको छ । दुई युवक पोखरा पुगेपछि सुनचाँदी पसल सञ्चालककी श्रीमतीलाई उनीहरूले धम्क्याउँदै रकम माग गरेको पाइएको छ ।

 

श्रीमान्ले मेरियमलाई बलात्कार गरेको र जीन्दगीभरलाई पुग्ने सम्पत्ति नदिए मुद्दा मामिला गरेर सडाउने धम्की दिएको पाइएको एक अधिकृतले बताए । अनलाइन खबरबाट