झापा (एजेन्सी) । भारतको अहमदाबादमा भएको विमान दुर्घटनामा २४१ जनाको ज्यान गएको पुष्टि भएको छ । हिजो २४२ जना यात्रु बोकेर बेलायतको लागि उडेको एयर इन्डियाको विमान टेकअफ गरेलगत्तै आवासीय क्षेत्रमा दुर्घटना भएको हो ।
दुर्घटनामा एक जना बेलायती नागरिकबाहेक अरू सबैको ज्यान गएको एयर इन्डियाले पुष्टि गरेको छ । दुर्घटनामा बाँच्न सफल विश्वास कुमार रमेशको अस्पतालमा उपचार भइरहेको छ । विमानको सिट नम्बर ११ए मा बसेका भारतीय मूलका बेलायती नागरिक रमेश दुर्घटनाबाट जोगिएका हुन् ।
दुर्घटनाग्रस्त एयर इन्डियाको उडानमा १६९ भारतीय नागरिक, ५३ बेलायती, ७ पोर्चुगलका नागरिक र एकजना क्यानेडियन नागरिक थिए । विमानमा २३० जना यात्रु र १२ जना चालक दलका सदस्य रहेका थिए । सो दुर्घटनामा गुजरातका पूर्व मुख्यमन्त्री विजय रूपाणीको पनि मृत्यु भएको छ ।
यसैबीच टाटा समूहले आफ्नो कम्पनी एयर इन्डियाको विमान दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई प्रतिव्यक्ति १ करोड रुपैयाँ राहत दिने घोषणा गरेको छ । टाटा समूहले घाइतेको उपचारको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने र उनीहरूलाई आवश्यक सबै सहयोग गर्ने प्रतिवद्धता पनि जनाएको छ ।