झापा । मेचीनगर नगरपालिका ६ काँकरभिट्टास्थित नेपाल-भारत सीमा क्षेत्र पुरानो मेचीपुलमा प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित कनकाई नगरपालिकाका एक युवा पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कन्काई ४ सुरुङ्गाका ३३ वर्षीय सञ्जित सिवा दर्जी रहेका छन् । उनलाई हिजा लागूऔषध नियन्त्रण व्यूरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलीले सिटीसफारीमा आउँदै गर्दा शंका लागेर चेकजाँच गरेको थियो ।
शंकास्पद अवस्थामा फेला परेका सिवाले बोकेको झोलाभित्र चिनीमा प्याक गरेको प्लाष्टिकको पोका पारेको प्लाष्टिकसहित २२ ग्राम ५७० मिलिग्राम ब्राउनसुगर फेला परेपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टामा ल्याई अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
यसअघि बिर्तामोडको पुरानो भद्रपुररोडबाट दमक १ बस्ने ३२ वर्षीय विजय कर्माकार र ३५ वर्षीय सन्तोष मिस्त्री ब्राउनसुगरसहित पक्राउ परेका थिए ।
इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले उनीहरुको साथबाट प्लाष्टिकसहित १५ ग्राम ब्राउनसुगर फेला पारेको थियो । उनीहरुलाई इप्रका अनारमनीमा ल्याई अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।