शनिश्चरे । अर्जुनधारा नगरपालिकाले शुक्रबार एक कार्यक्रमबीच बरिष्ठ साहित्यकार कृष्ण बराललाई नगदसहित दीर्घ साहित्य सेवा पुरस्कार २०८१ प्रदान गरेको छ ।

 

नगरपालिकाको भाषा, कला, साहित्य तथा संस्कृृति प्रवद्र्धन समितिले सभाहलमा आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथि साहित्यकार पुण्यप्रसाद खरेल, नगर प्रमुख बलदेवसिंह गोम्देन, उपप्रमुख खड्गमाया पराजुलीलगायतले सम्मान तथा पुरस्कृत गरेका हुन् ।

 

विभिन्न विधामा कलम चलाएका झापा शनिश्चरेका पुराना साहित्यकार बराललाई नगद १ लाखसहित पुरस्कृत गरिएको हो । निबन्ध, उपन्यास, कथा र समालोचना विधाका सात वटा कृति प्रकाशित छन् । पुरस्कृत बरालको जीवनी साहित्यकार सान्सेन पन्धाकले सुनाएका थिए ।

 

सोही कार्यक्रममा नगर विकासमा साहित्यको भूमिका विषयमा साहित्य विमर्श पनि गरिएको थियो । सञ्चारकर्मीे दिपिन राईको सहजीकरणमा भएको विमर्शमा साहित्यकारहरु गणेश निरौला, मिश्र वैजयन्ती र प्रकाश थाम्सुहाङ वक्ता थिए ।

 

यसैगरी, कार्यक्रममा साहित्यकारहरु चित्रा पौडेल, केशव आचार्य, मुनाराज शेर्मा, टंक विकल्प, पुण्य बराल, विवश बलिभद्र कोइराला, अभागी थेगुवा, सुन्दर कुरुप, विराट किराती, राजकुमार सुब्बा, मायामितु न्यौपाने, केशवराज पौडेल, सेलिङ केसी, पदम निरौला र दीपक ढुंगानाले आफ्ना रचना वाचन गरेका थिए ।

 

नगर प्रमुख गोम्देनले नगरको समृद्धिका लागि साहित्य क्षेत्रबाट हुनसक्ने बृहत्त योजना र सहयोग नगरले स्वीकार्ने भन्दै आआफ्नो क्षेत्रबाट सुझाव दिन आग्रह गरेका छन् ।

 

समितिकी संयोजक कञ्चना काफ्लेले स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि खरेल र पुरस्कृत व्यक्तित्व बराल र उपप्रमुख पराजुलीले आफ्ना भनाइ राखेका थिए । कार्यक्रमकाे सञ्चालन प्रशासन शाखाका कर्मचारी साैजन कटुवालले गरेका थिए ।