शनिश्चरे । झापाको अर्जुनधारा नगरपालिकाले असार १५ अर्थात राष्ट्रिय धान दिवसको अवसरमा रोपाईसँगै उत्कृष्ट कृषक र विद्यार्थीलाई पुरस्कृत गरेको छ । किसानलाई प्रोत्साहनस्वरुप नगदले पुरस्कृत गरेको जनाएको छ ।

 

नगरपालिकाले २२औं राष्ट्रिय धान दिवसको अवसर पारेर कृषितर्फ विधागत उत्कृष्ट पाँच जना कृषकलाई पुरस्कृत गरेको हो । यस्तै, निबन्ध लेखनतर्फ उत्कृष्ट बनेका चार जना विद्यार्थीलाई पनि पुरस्कृत गरिएको छ ।

 

नगरको कृषि विकास शाखाको आयोजना तथा शनिश्चरे साना किसान सहकारी संस्थाको ब्यवस्थापन सहयोगमा आज अर्जुनधारा ११ स्थित सालबारीमा उनीहरुलाई पुरस्कृत गरिएको हो ।

 

खाद्य बालीतर्फ बिष्णुप्रसाद भण्डारी, नगदे बालीतर्फ लक्ष्मीप्रसाद पोखरेल, तरकारी बालीतर्फ कमल अधिकारी, बीज बृद्धितर्फ गोकर्ण कार्की र मौरी पालनतर्फ रामचन्द्र भण्डारीलाई जनही आठ हजार नगद प्रदान गरियो ।

 

यस्तै, निबन्ध लेखनतर्फ ड्रिका दर्नाल प्रथम, लोचन बराल दोस्रो, पूजा थापा तेस्रो र रिशभ पोखरेल चौथो भएका थिए । उनीहरुलाई क्रमशः पाँच हजार, तीन हजार, दुई हजार र एक हजार नगद पुरस्कारसहित प्रमाणपत्र प्रदान गरियो ।

 

नगर प्रमुख बलदेवसिंह गोम्देनले कृषकलाई कृषि पेशामा प्रोत्साहन गर्ने उद्देश्यले सम्मान तथा पुरस्कारको व्यवस्था गरिएको बताए । कार्यक्रममा उपप्रमुख खड्गमाया पराजुली र प्रमुख प्रशासकीय अधिकृत तिलोचन रिमालले आफ्ना भनाइ राखेका थिए ।

 

यसैगरी, महिला र पुरुषको हिले दौड प्रतियोगितातर्फ महिलातर्फ सुस्मिता गिरी र पुरुषतर्फ भूपेन्द्र विष्ट विजेता बन्दै जनही एक हजार रुपैयाँ पुरस्कार पाउन सफल भए । शाखाकी प्रमुख एन्जिला बिडारीले सञ्चालन गरेको कार्यक्रममा उपस्थित सबै जनालाई असार १५ को अवसरमा दही चिउरासमेत खुवाइएको थियो ।