मोरङ । विराटनगरमा प्रहरीको नाममा अपहरण र डकैती गर्ने गिरोहका दुई सदस्यलाई मोरङ प्रहरीले पक्राउ गरेको छ। घटनामा संलग्न अर्का एक जना अझै फरार छन्।

 

पक्राउ पर्नेहरूमा विराटनगर ८ का अन्दाजी २४ वर्षीय समीर हुसेन र विराटनगर ६ का २६ वर्षीय आशिव अन्सारी रहेका छन्। अपहरणमा प्रयोग भएको स्कुटर पनि प्रहरीले बरामद गरेको छ।

 

मोरङ प्रहरीका अनुसार असार ११ गते बिहान करिब ११ः१५ बजेतिर विराटनगर १५ का २० वर्षीय विक्रमकुमार साह तेलीलाई आफूलाई ‘प्रहरी’ बताउने ३ जनाको समूहले अपहरण गरेका थिए।

 

विराटनगर १३ स्थित महतो टोलबाट मोटरसाइकल र स्कुटरमा जबरजस्ती चढाएर उनलाई जतुवा पुर्‍याएर साथमा भएको रकम लुटेको प्रारम्भिक अनुसन्धानबाट खुलेको मोरङ प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

 

विक्रमकुमारका भिनाजु धर्मानन्द साहका अनुसार उनीहरूले हामी जिल्ला प्रहरी कार्यालय मोरङबाट आएका प्रहरी हौँ, अनुसन्धान गर्नु छ भन्दै को १४ प ३३३० नम्बरको स्कुटरमा चढाएर लगेका थिए।

 

बैंकमा जम्मा गर्न जान लागेको समयमा ३ लाख ६४ हजार रुपैयाँ लुटिएको थियो। रकम लुटेपछि विक्रमलाई एकान्त स्थानमा छाडिएको र लुटपाटका क्रममा ‘हल्ला गरे मारिदिन्छौँ’ भन्दै धम्कीसमेत दिएको बताइएको छ।

 

दुवैविरुद्ध शरीर बन्धक बनाई डकैती गरेको कसुरमा मुद्दा दर्ता गरी अदालतबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ। अर्का व्यक्ति फरार रहेकाले उनको खोजी जारी रहेको प्रहरीले जनाएको छ।