झापा । भारतबाट मलद्वारमा ब्राउनसुगर लुकाएर ल्याउने तीन जना भद्रपुरमा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बुद्धशान्ति र कमल गाउँपालिकाका युवा छन् ।

 

आज साँझ ६ः१० बजे भद्रपुर ५ स्थित मेची बिटमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री बुद्धशान्ति ४ जुनेली बस्ने २९ वर्षीय दिपक सम्बाहाम्फेलाई शंका लागेर चेकजाँच गर्दा उनले मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको ब्राउनसुगर फेला परेको हो ।

 

३ ग्राम ३१० मिलिग्राम ब्राउनसुगरसहित सम्बाहाम्फेलाई नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको छ । थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय पठाइने जनाइएको छ ।

 

यस्तै, आज दिउँसो १२ः१० बजे भद्रपुर ५ स्थित राजन चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ आउँदै गरेका पैदलयात्री कमल ५ पाडाजुँगी बस्ने २० वर्षीय पिजल धिमाल र कमल २ बस्ने ३२ वर्षीय केशव राईलाई ब्राउन सुगरसहित पक्राउ गरेको छ ।

 

उनीहरुलाई शंका लागेर चेकजाँच गर्दा मलद्वारभित्र प्लाष्टिकको पोका पारी लुकाई छिपाई ल्याउँदै गरेको प्लाष्टिकसहित ३ ग्राम १० मिलिग्राम ब्राउनसुगर फेला परेको थियो । ती दुई जनालाई पनि नियन्त्रणमा लिई वडा प्रहरी कार्यालय भद्रपुरमा राखिएको जिल्ला प्रहरी कार्यालय झापाले छ ।