झापा । झापामा दिनहुँजसो ठूलो मात्रामा लागूऔषध ब्राउनसुगर बरामद भइरहेको छ । यसै क्रममा आज १६७ ग्राम ब्राउन सुगरसहित एक कारोबारी पक्राउ परेका छन् ।

 

पक्राउ पर्नेमा कनकाई नगरपालिका १ दुर्गापुरका पवन ऋषिदेव रहेका छन् । कोशी प्रदेश प्रहरीको लागूऔषध दुर्व्यसनविरुद्धको महाअभियानअन्तरगत विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापा र लागूऔषध नियन्त्रण ब्युरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।

 

मध्यरातमा भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेका ३० वर्षीय ऋषिदेवलाई प्रहरीले १ सय ६७ ग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो ।

 

झापा गाउँपालिका ४ सुकुम्बासी बस्तीमा उनलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा साइकलको ट्युबभित्र लुकाइछिपाई ल्याउँदै गरेको १६७ ग्राम ब्राउनसुगर फेला परेको थियो ।