झापा । झापाको भद्रपुरमा ठूलो मात्रामा प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित तीनजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा एकजना महिला रहेकी छन् ।

 

आज बिहान ८ बजे भद्रपुर ७ स्थित डाँफे चोकमा वडा प्रहरी कार्यालय भद्रपुरबाट प्रहरी निरीक्षक लोककृष्ण दाहालको कमाण्डमा खटिएको प्रहरी टोलीले बाटोमा हिडिरहेका पैदलयात्रीहरुमाथि चेकजाँज गरेको थियो ।

 

प्रहरीका अनुसार चेकजाँचका क्रममा नुवाकोट तादी ६ बस्ने ३० वर्षीय मनकुमार दर्जी, उनकी श्रीमती २६ वर्षीया शशी खत्री र भद्रपुर ७ डाँफे चोक बस्ने ३० वर्षीय सुनिल चापागाईको साथबाट ३७ ग्राम ४९० मिलिग्राम ब्राउनसुगर बरामद भएको थियो ।

 

चेकजाँच गर्दा उनीहरुले बोकेको कालो झोलाभित्र प्लाष्टिकको पोका पारी लुकाइछिपाई ल्याउँदै गरेको ब्राउन सुगरसहित नियन्त्रणमा लिई थप अनुसन्धान तथा कानुनी कार्बाहीको लागि जिल्ला प्रहरी कार्यालय झापामा राखिएको बताइएको छ ।