झापा । झापा मेचीनगरको सहरेडाँगीमा स्कोरपियोको ठक्करबाट एकजनाको ज्यान गएको छ । पैदलयात्रीलाई ठक्कर दिएर स्कोरपियो भागेको थियो ।
प्रहरीका अनुसार हिजो साँझ ७।३० बजे मेचीनगर १२ सहरेडाँगीस्थित मेची राजमार्गमा इलामबाट चारआलीतर्फ आउँदै गरेको मे १ च ६१३१ नम्बरको स्कोरपियोले हालसम्म पहिचान नखुलेका पैदलयात्रीलाई ठक्कर दिएर भागेको थियो ।
सो स्कोरपियो र त्यसका चालक झापा हल्दिबारी १ बस्ने ४८ वर्षीय गजेन्द्रबहादुर बिष्टलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उनीमाथि अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतकको नाम थर वतन नखुलेका अन्दाजी ४५-४६ वर्षका पुरुष रहेका छन् । गम्भीर घाइते भएका ती व्यक्तिलाई उपचारको लागि बीएण्डसी अस्पताल पुर्याउनासाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।
उनी मागेर खाइहिँड्ने व्यक्ति भएको बताइएको छ । उनको साथबाट सहयोगको अपिलसहितको सिफारिस पत्र, काँचो मासु, पाउरोटी र ११ हजार रुपैयाँ फेला परेको जनाइएको छ ।