झापा । म्याजिक रोकेर चालक सामान लिन तल झरेको अवस्थामा म्याजिक आफैँ गुडेर सडकबाट तल दुर्घटना हुँदा कमल गाउँपालिकामा ६ जना यात्रु घाइते भएका छन् ।
आज साँझ ६ः२० बजे कमल गाउँपालिका ५ लवडाँडास्थित पूर्वपश्चिम लोकमार्गमा दमकबाट गौरादहतर्फ जाँदै गरेको मे. १ ज ३०२४ नम्बरको म्याजिकका चालक गौरादह ५ का ४० वर्षीय हेमन्त खड्का म्याजिक रोकेर सामान लिन तल झरेका थिए ।
रोकिराखेको अवस्थामा उक्त म्याजिक आफैँ गुडेर सडकबाट तल झरेपछि दुर्घटना भएको हो । दुर्घटनामा घाइते हुनेहरुको नामावली यसप्रकार रहेको छ । घाइतेहरुको निम्स अस्पताल दमक र रिसर्च सेन्टर अस्पताल दमकमा उपचार भइरहेको छ ।
घाइते हुनेमा गौरादह ५ की ८० वर्षीय महेश्वरी बाँस्तोला, ३६ वर्षीया जुनिता चेम्जोङ, कमल ७ की २० वर्षीया करुण उराउ, मोरङ उर्लाबारी १ की ५३ वर्षीया तारा निरौला, गौरादह ५ की ३३ वर्षीया रन्जना चेम्जोङ र गौरादह ५ की १६ की सन्याङ लिम्बू रहेकी छन् ।
घटनास्थलमा प्रहरी टोली खटिएर म्याजिक चालक र म्याजिकलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय दमकमा ल्याइएको डीएसपी रामप्रसाद तिमल्सिनाले जानकारी दिएका छन् ।