शनिश्चरे । झापाकाे अर्जुनधारा नगरपालिकामा रहेका संस्थागत विद्यालयहरुले विद्यालय शिक्षा विधेयकमा निजी तथा संस्थागत विद्यालयहरुलाई निरुत्साहित गर्ने प्रावधानविरुद्ध आज विरोध प्रदर्शन गरेको छ ।

 

अर्जुनधाराको विभिन्न क्षेत्रमा विद्यालयका सवारीसाधनको र्याली आयोजना गर्दै शनिश्चरे बजारस्थित ज्येष्ठ नागरिक चौतारीमा कोणसभा गरी विरोध जनाएको छ । विरोध कार्यक्रममा नगरभरि रहेका ३६ वटा संस्थागत विद्यालयका ५६ वटा सवारीसाधन र सम्पूर्ण संस्थापक तथा प्रिन्सिपलहरु सहभागी थिए ।

 

अर्जुनधारा नगर प्याव्सनका उपाध्यक्ष प्रविन कार्कीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्यब्सनका पूर्व केन्द्रीय सदस्य तथा कालिका शिशु सदनका सञ्चालक मोहन सुब्बाले आफ्ना भनाइ राखेका थिए ।

 

अर्जुनधारा प्याब्सनका अध्यक्ष बालगोपाल गौतमलगायत बरिष्ठ सल्लाहकार रुद्र सिटौला, जिल्ला सदस्य दिपेन सुब्बा, जिल्ला उपाध्यक्ष टिकाराम गौतम, जिल्ला सल्लाहकार प्रभुकुमार श्रेष्ठले भने काठमाडौं केन्द्रित आन्दोलनमा सहभागिता जनाएका छन् । यस आन्दोलनमा प्याब्सन र एनप्याब्सन दुवै संस्थाको सहभागिता रहेको जनाइएको छ ।

 

शिक्षा ऐन मस्यौदामा निजी विद्यालयलाई जबरजस्ती गैरनाफामुखी बनाउन खोज्ने प्रावधान, लगानी, गुणस्तर र प्रतिस्पर्धामा प्रत्यक्ष आघात पुर्याउन खोजिएको, शुल्क र छात्रवृत्तिसम्बन्धी अस्पष्ट र असन्तुलित प्रावधान, पारदर्शीताको अभावले अभिभावक भ्रमित हुने र भ्रष्टाचार बढ्ने सम्भावना बढेको, नीति निर्माणमा प्रत्यक्ष सरोकारवालाको सहभागिता नहुनजस्ता कमजोरी रहेको भन्दै संगठनहरुले विरोध जनाउँदै आएका छन् ।