अर्जुनधारा, (झापा) । शनिश्चरे माविले अर्जुनधारा नगरस्तरीय १६औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि तेस्रो पटक जितेको छ । माघ १८ गतेदेखि २१ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा शनिश्चरे माविले प्रथम स्थान हासिल गरेसँगै उपाधिमाथि ह्याट्रिक गरेको हो ।

 

नगरभित्रका २६ वटा सामुदायिक तथा निजी माध्यमिक विद्यालयको सहभागिता रहेको प्रतियोगितामा शनिश्चरे माविले २१ स्वर्ण पदकसहित कुल ४५ पदक जित्दै शीर्ष स्थान कायम गरेको हो । यसअघिका दुई संस्करणको पनि विजेता शनिश्चरेले यसपटक पनि उपाधि आफ्नो पोल्टामा पार्न सफल भयो । शनिश्चरेले २१ स्वर्ण, १५ रजत र ९ कास्य पदक जित्यो ।

 

प्रतियोगितामा सिंहदेवी माध्यमिक विद्यालयले ९ स्वर्ण, ८ रजत र १० कास्यसहित २७ पदक जित्दै दोस्रो स्थान हासिल गर्‍यो भने जनता माध्यमिक विद्यालयले ७ स्वर्ण, ७ रजत र ४ कास्यसहित १८ पदक जितेर तेस्रो स्थान हात पार्‍यो ।

 

त्यसैगरी लक्ष्मी माध्यमिक विद्यालय ६ स्वर्णसहित ९ पदक जितेर चौथो स्थानमा रहँदा रुपरत्न मेमोरियलले ५ स्वर्णसहित २० पदक जितेर पाँचौँ स्थान हासिल गर्‍यो । सिर्जना सिसु सदन ४ स्वर्णसहित छैटौँ, डिपिएएस ३ स्वर्णसहित सातौँ, देवभूमि इङ्लिस स्कुल २ स्वर्णसहित आठौँ र भानु माध्यमिक विद्यालय १ स्वर्णसहित नवौँ स्थानमा रह्यो ।

 

अर्जुनधारा १ स्थित सिंहदेवी माध्यमिक विद्यालयको प्राङ्गणमा सम्पन्न प्रतियोगितामा एथलेटिक्स, भलिबल, कबड्डी, तेक्वान्दो, उस्सु र कराँते गरी छ वटा खेल विधामा प्रतिस्पर्धा गराइएको थियो । प्रतियोगितामा करिब चार सय विद्यार्थी खेलाडी सहभागी भएका थिए । प्रतियोगिता अन्तर्गत ६६ स्वर्ण, ६६ रजत र १०२ कास्य पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

 

समापन समारोहमा अर्जुनधारा नगरपालिकाका नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङ, प्रतियोगिता संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमाल, अर्जुनधारा १ का वडाध्यक्ष उपेन्द्र बस्नेत, सिंहदेवी माध्यमिक विद्यालयका प्रधानाध्यापक तथा प्रतियोगिता सञ्चालन समितिका सचिव कमलप्रसाद पाण्डेलगायतले विजेता खेलाडी तथा विद्यालयलाई पुरस्कार वितरण गर्नुभयो ।

 

कार्यक्रमका संयोजक तथा नगर खेलकुद विकास समितिका अध्यक्ष सुरेन्द्र धिमालको अध्यक्षतामा भएको कार्यक्रममा शिक्षण तथा खेलकुद क्षेत्रमा योगदान पुर्‍याएका शिक्षक तथा उत्कृष्ट खेलाडीलाई सम्मान गरिएको थियो ।