झापा । झापाबाट इलामतर्फ लाँदै गरेको एक सय ग्रामभन्दा बढी प्रतिबन्धित लागुऔषध ब्राउन सुगरसहित मेचीनगरमा दुईजना पक्राउ परेका छन् ।
बुधबार दिउँसो १२ः३० बजे मेचीनगर ८ गिरीगाउँमा इँटाभट्टाबाट सलकपुरतर्फ जाँदै गरेको मे. ११ प ४२३३ नम्बरको मोटरसाइकलका चालक मेचीनगर ८ बस्ने ३२ वर्षीय अजय मेचे र पछाडि सवार भारत नक्सलबारी बस्ने ३० वर्षीय टान्टु भन्ने कनकन राह पक्राउ परेका हुन् ।
उनीहरुलाई शंका लागेर प्रहरीले चेकजाँच गर्दा राहले हातमा बोकेको कालो रंगको प्लाष्टिको झोलामा एउटा पोका फेला परेको थियो । उक्त पोकालाई खोली हेर्दा प्लाष्टिकबाहेक एक सय ग्राम एक सय मिलिग्राम ब्राउनसुगर भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मोटरसाइकल र लागूऔषधसहित उनीहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखिएको सूचना अधिकारी डीएसपी खगेन्द्र खड्काले बताएका छन् ।