काठमाडौं । सोमबार भएको जेन–जीको प्रदर्शनका क्रममा मीनभवनस्थित यातायात व्यवस्था विभागमा आगो लगाउँदा इम्बोस्ड नम्बर उत्पादन गर्ने प्लान्ट र सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाई गर्ने मेसिन जलेर ध्वस्त भएको छ ।

 

आगलागीका कारण विभागको भवन ध्वस्त बनेको छ । विभागका उपमहानिर्देशक केशव खतिवडाका अनुसार छपाई भएर बसेका करिब २० हजार लाइसेन्स वितरणका लागि विभागमा राखिएको थियो ।

 

सबै प्रणाली (सिस्टम) बन्द भएकोले कार्यालय मर्मत सम्भार गरेर चलाउन सक्ने अवस्था नभएकाले सेवा सुचारु हुन अझै एक, दुई महिना नै लाग्ने उनले सुनाए ।

 

वैदेशिक रोजागरीमा जाने, सुरक्षा निकाय कसैलाई पनि तत्काल लाइसेन्स आवश्यक परे उपलब्ध नहुने भएको छ । विभागमा रहेको एउटा मात्र लाइसेन्स छपाई गर्ने मेसिन आगलागीबाट ध्वस्त भएपछि सेवा अनिश्चित बनेको विभागले जनायो ।

 

उपमहानिर्देशक खतिवडाका अनुसार कार्यालयमा पार्किङ गरेर राखिएका ७ वटा गाडी जलेर ध्वस्त छन् । के कति संख्यामा नम्बर प्लेट जल्यो भन्नेबारे यकिन हुने क्रममै रहेको विभागले जनायो ।

 

२५ लाख सवारी साधनमा नम्बर प्लेट जडान गर्ने सरकारको योजना रहेकोमा अहिलेसम्म करिब १ लाख सवारीमा मात्र इम्बोस्ड नम्बर प्लेट जडान गरिएको छ । इकान्तिपुरबाट