धरान । धरान १० स्थित पुतली लाइनमा रहेको भाटभटेनी सुपरमार्केटमा आगजनी हुँदा जलेका ४ जनाको शव भेटिएको छ । उक्त सुपरमार्केटमा भदौ २४ गते जेनजी आन्दोलनको दोस्रो दिन अराजक समूहले आगो लगाएको थियो ।

 

शुक्रबार धरानका जनप्रतिनिधि र सुरक्षकर्मीले घटनास्थल निरीक्षण गर्ने क्रममा भाटभटेनीको दोस्रो तलामा जलेको अवस्थामा एउटा शव र चौथो तलामा ३ वटा शव फेला परेका हुन् ।

 

उक्त आगो पूर्णरुपमा आजमात्र नियन्त्रणमा आएपछि घटना निरीक्षण गर्दा शव भेटिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायव उपरीक्षक प्रकाश जबेगुले बताए । आगोले पूर्णरुपमा जलेको अवस्थामा शव फेला परेकाले महिला पुरुष छुट्याउन सकिएको छैन ।

 

उनका अनुसार आन्दोलनको दिन ४ जना मानिस भाटभटेनीमा हराएको भन्ने खबरअनुसार खोजी गरिएको थियो । ती शवलाई प्रहरीले मुचुल्का उठाएर पोस्टमार्टम गर्न अस्पताल पठाएको छ ।