झापा । एकादशीका दिन झापाको बिर्तामोड ८ मा लागेको गरामनी मेलामा छुरा प्रहार भएको छ । छुरा प्रहारबाट एकजना गंभीर घाइते भएका छन् ।

 

हिजो साँझ ६ः३० बजे गरामनी मेलाको हल्दिवारी जाने बाटोमा बिर्तामोड ७ गरामनीका १८ वर्षीय बर्षात राजवंशीमाथि छुरा प्रहार भएको हो । तत्काल नामथर नखुलेका मानिसहरुले राजवंशीलाई एक्कासि कुटपिट तथा छुराले प्रहार गरेका थिए ।

 

गंभीर घाइते राजवंशीलाई प्रादेशिक अस्पताल भद्रपुरमा सामान्य उपचारपछि थप उपचारको लागि बीएण्डसी अस्पताल बिर्तामोड पठाइएको छ । उनको पिठ्युँमा चोट लागेको छ ।

 

राति ८ः२५ बजे बीएण्डसी अस्पतालमा खटेको प्रहरीले इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराउनासाथ अस्थायी प्रहरी चौकी गरामनीबाट प्रहरी सहायक निरीक्षक भुपेन्द्र कार्कीको कमाण्डमा ३ जनाको टोली खटिएका थिए ।

 

प्रहरीका अनुसार छुरा प्रहार गर्ने मानिसहरुको पहिचान तथा खोजतलास भइरहेको जनाइएको छ । यस वर्ष गरामनी मेलामा जुवाजन्य खेल डाइस खुलेआम खेलाइएको थियो । छुरा प्रहार भएको ठाउँ हल्दिवारी जाने बाटोमा एक दर्जनभन्दा बढी डाइस रहेका थिए ।