इलाम । मेची राजमार्ग पूर्णरुपमा सन्चालनमा आउन चार, पाँच दिनसम्म लाग्ने सडक डिभिजन कार्यालय इलामले जनाएको छ । ताप्लेजुङदेखि पाँचथर फिदिमसम्म कुनै अवरोध नभए पनि फिदिमदेखि राँकेसम्म एकतर्फी यातायात मात्रै चल्ने अवस्था रहेको छ ।
जिल्ला प्रशासन कार्यालय इलामले एक सूचना जारी गर्दै माइखोलाको राजदुवाली खण्डमा सोमबार बिहान ६ बजेदेखि मंगलबार बिहान ७ बजेसम्म सबै किसिमका सवारी आवागमन ठप्प रहने जनाइएको छ ।
राजदुवालीमा रहेको पुल बाढीका कारण उच्च जोखिममा रहेको भन्दै लामो तथा छोटा दूरीका सबै सवारी साधनहरुको आवागमन बन्द गरिएको इलामकी प्रमुख जिल्ला अधिकारी सुनिता नेपालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
यसैगरी, सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार राँकेदेखि इलाम सदरमुकाम र माइखोला क्षेत्रमा धेरै समस्या रहेको छ ।
‘आजदेखि सडक खुलाउन क्रिृयाशील रहन्छौं, सकेसम्म चाँडो खोल्ने प्रयास गछौं तर अहिलेको अवस्था हेर्दा चार, पाँचदिन सम्म लाग्ने देखिन्छ,’ भट्टराईले भने ।
पाँचथरका व्यवसायी दिपक नेपालले भने मेची राजमार्ग र तमोर करिडोर दुवै अवरुद्ध रहेकाले पाँचथरको जोरसालबाट तेह्रथुमको सक्रान्ति बजारहुँदै म्याङलुङबाट धरान निस्कन यात्रु र सवारी सञ्चालकलाई सुझाव दिएका छन् ।