विराटनगर । केही दिनअघि गएको बाढीपहिरोले भत्किएका र बगाएका सबै घर कोशी प्रदेश सरकारले पुनर्निर्माण गरिदिने भएको छ। मुख्यमन्त्री हिक्मतकुमार कार्कीको अध्यक्षतामा आज (बुधबार) बसेको विपद् व्यवस्थापन परिषद्को बैठकले त्यस्तो निर्णय गरेको हो।
विपदमा सबैभन्दा बढी क्षति भएको इलाम, झापा र मोरङका घरहरू तत्कालै बनाउन सुरु गर्ने कोशी प्रदेश सरकारले जानकारी दिएको छ। घरहरूको सम्पूर्ण विवरण संकलन पनि गर्दै जाने र निर्माण कार्य पनि अगाडि बढाउँदै जाने आजको बैठकले निर्णय गरेको छ।
त्यस्तै, बैठकले इलाम जिल्लाका सात वटा पालिकालाई संकटग्रस्त घोषणा गर्नको लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ। प्रदेश सरकारले राहत र पुनर्स्थापनाका लागि इलाममा समन्वय गर्न आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना, भौतिक पूर्वाधार मन्त्री भूपेन्द्र राई र आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारीलाई जिम्मा दिएको छ।
झापा जिल्लाका लागि खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्री एकराज कार्कीलाई आवश्यक पुनर्निर्माण र सबै खालको समन्वय गर्ने जिम्मेवारी तोकिएको छ। बैठकले चालु बजेटका खर्च र योजनाहरू हेरेर कटौती गरी पुनर्निर्माणमा खर्च गर्नका लागि कोशी प्रदेश सरकारलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।