इलाम । पाँच दिनदेखि अवरुद्ध मेची राजमार्गको इलाम-फिदिम सडक खण्ड आज अपराह्नदेखि सञ्चालनमा आएको छ । सडक डिभिजन इलामले यस खण्डका विभिन्न स्थानमा गएको पहिरो पन्छाएसँगै यो सडक सञ्चालनमा आएको हो ।

 

इलाम फिदिम सडक खण्डअन्तर्गत पाँचथरको फिदिमदेखि इलामको भदौरेसम्म तीन दिन अगावै खुले पनि बिब्ल्याँटे, पुवाखोला, नेपालटार र रक्से क्षेत्रमा दर्जनौं पहिरो गएकाले सडक पन्छाउन समय लागेको हो ।

 

यस क्षेत्रका विभिन्न स्थानमा एक्स्काभेटर लगाएर अवरोध पन्छाइएसँगै सडक सञ्चालन भएको सडक डिजिभन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । उनका अनुसार इलाम फिदिम खण्ड सडक खुलाइए पनि अब इलाम विर्तामोड खण्ड अन्तर्गत माइखोला र राजदुवाली क्षेत्रको अवरोध यथावत छ ।

 

‘अब सम्पूर्ण जनशक्ति र मेसिन राजदुवालीमा केन्द्रित गर्छौँ’, भट्टराईले भने । अवरुद्ध मेची राजमार्गको इलाम-पाँचथर खण्ड खुलाउन ९ वटा एक्स्काभेटर परिचालन गरिएको थियो ।

 

यसैगरी, इलामकै पुवाखोला खण्डमा ३ वटा, मिलगोलाईतर्फबाट ३ वटा र राजदुवाली खण्डमा १ वटा मेसिन परिचालन गरिएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले जानकारी दिए । इकान्तिपुरबाट