झापा । अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देनले व्यक्तिगत र राजनीतिक इगोले संघसंस्थामाथि आक्रमण नगर्न आग्रह गरेका छन् ।

 

अर्जुनधारा २ मा रहेको शान्ति सामुदायिक वन उपभोक्ता समूहको २७औँ वार्षिक साधारणसभाको उद्घाटनका क्रममा नगर प्रमुख गोम्देनले समाजमा राम्रो काम गरिरहेका संस्थाविरुद्ध व्यक्तिगत रिसइवी साँधेर आक्रमण गर्ने परिपाटी अन्त्य हुनुपर्ने जिकिर गरे । कार्यक्रममा संस्थामाथि लगाइएका आराेपबारे प्रश्न उठाइएपछि नगर प्रमुखकाे यस्ताे धारणा आएकाे हाे ।

 

जुनसुकै इगो वा स्वार्थबाट सामाजिक संघसंस्थाप्रति गरिएको आक्रमणले पदाधिकारी, सदस्यलगायत कर्मचारीको मनोबल घटाउने काम हुने उल्लेख गर्दै नगर प्रमुख गोम्देनले यथार्थ बुझेरमात्र अघि बढ्न सुझाव दिए ।

 

तथ्यहीन आरोपले संस्थाको बद्नाम गराएर, इगो साँधेर संस्थामाथि आक्रमण गर्दा काम गरिरहेका मान्छेप्रति निराशा जाग्ने भइ उपभोक्ता मारमा पर्ने गरेको उनले सुनाए । प्रमाण भए सम्बन्धित निकायमा कानुनी कारबाहीकाे बाटाे खुला भएकाे सुझाएका छन् ।

 

वन समूहका अध्यक्ष खगेन्द्र कोइरालाले संस्थाको वार्षिक प्रगति प्रतिवेदन, आन्तरिक लेखा समितिको प्रतिवेदन संयोजक गोपालकृष्ण लामिछाने र चालु आर्थिक वर्ष २०८२/०८३को वार्षिक कार्यक्रम कोषाध्यक्ष वीना रोक्काले प्रस्तुत गरेका थिए ।

 

त्यसैगरी प्रस्तुत प्रतिवेदनमा चालु आर्थिक वर्षको लागि अनुमानित ७५ लाख ६३ हजार चार सय ५९ रुपैयाँ बराबरको वार्षिक कार्यक्रम रहेको उल्लेख गरिएको छ ।

 

सोही कार्यक्रममा विभिन्न व्यक्तित्वहरुलाई नगद पुरस्कार र सम्मान पत्रसहित पुरस्कृत एवम् सम्मानित गरिएको थियो । त्यस्तै कार्यक्रममा १२ जना ज्येष्ठ उपभोक्तालाई नगद पुरस्कारसहित दोसल्ला ओढाई सम्मानित गरिएको थियो ।

 

कार्यक्रममा वडाध्यक्ष नरेन्द्रकुमार श्रेष्ठ, वन उपभोक्ता महासंघ झापाका सदस्य तुलसी खतिवडा, राष्ट्रिय स्वतन्त्र पार्टी वडा सचिव बालकृष्ण कुँइकेल, खुदुनाबारी साना किसान कृषि सहकारी संस्थाका उपाध्यक्ष विष्णुलाल ढकाललगायतले बोलेका थिए । समूहकी उपाध्यक्ष लक्ष्मी आङदेम्बेले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव नरेन्द्रप्रसाद गौतमले गरेका थिए ।