झापा । झापाको अर्जुनधारा नगरपालिका १ स्थित हचुमासा सामुदायिक वन उपभोक्ता समूहले चालु आर्थिक वर्षका लागि अनुमानित एक करोड ३८ लाख २८ हजार १८६ रुपैयाँ ३० पैसा बराबरको वार्षिक कार्यक्रम सभामा पेश गरेको छ ।
समूहको कार्यालय प्राङ्गणमा समूहका अध्यक्ष अम्बरबहादुर राईको अध्यक्षतामा मंगलबार सम्पन्न २९औं वार्षिक साधारणसभामा उक्त वार्षिक कार्यक्रम पेश गरिएको हो । त्यसैगरी गत आर्थिक वर्षमा ९८ लाख ७१ हजार नौ सय ७१ रुपैयाँ ७४ पैसा बराबरको आर्थिक कारोबार गरेको प्रतिवेदनमा उल्लेख छ ।
कनकाई सब डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत महेन्द्र पौडेलले उद्घाटन गरेको साधारणसभामा समूहका अध्यक्ष राईले गत आर्थिक वर्ष २०८१/०८२को वार्षिक प्रगति प्रतिवेदन र कार्यालय सचिव निमेश भण्डारीले आन्तरिक लेखा समितिको प्रतिवेदन तथा चालु आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
प्रस्तुत प्रतिवेदनमा आन्तरिक पर्यापर्यटन दिगो विकास कार्यक्रमका लागि खैरेनी पर्यापर्यटन सञ्चालनार्थ बजेट व्यवस्थापन र कार्यान्वयन गरेको, एक सामुदायिक वन एक संरक्षण कार्यक्रमअन्तर्गत पोखरी निर्माण, समूहको क्षेत्रभित्र बाटो स्तरोन्नति, सिपमुलक कार्यक्रमअन्तर्गत दुना टपरी बनाउने मेसिन खरिद गरिएको उल्लेख छ ।
यसैगरी, अति विपन्न उपभोक्ताहरुको पहिचान गरि घर मर्मत गर्न १८ घरधुरीलाई निःशुल्क वन पैदावार वितरण, हात्ती प्रभावित क्षेत्रमा क्षति न्यूनीकरणका लागि निःशुल्क मौरीसहितको घार वितरणलगायतका कार्यहरु गरेको उल्लेख गरिएको छ ।
त्यसैगरी कार्यक्रममा तरकारी खेती, बंगुर पालन, दूध उत्पादन, जेहेन्दार विद्यार्थी, उत्कृष्ट टोल र पूर्व कर्मचारीलाई नगदसहित प्रशंसापत्र प्रदान गरियो । सोही कार्यक्रममा परम्परागत प्रणालीबाट खेतीपाती गर्दै आएका २९ जना कृषकलाई निःशुल्क हलो र जुवा प्रदान गरिएको थियो ।
कार्यक्रममा वडा सदस्य दिनेशकुमार घिमिरे, नेकपा एमाले पार्टी वडा कमिटीका अध्यक्ष माधव आचार्य, नेकपा माओवादी केन्द्र पार्टी प्रतिनिधि वेनुकुमार राई, समूहका सल्लाहकार विजेन्द्र एक्तेन, पूर्व अध्यक्ष रामबहादुर निरौलालगायतले मन्तव्य राखेका थिए । समूहका उपाध्यक्ष कमलबहादुर फूँयेलले स्वागत गरेको उक्त कार्यक्रमको सञ्चालन सचिव विमला बुर्जा मगरले गरेकी थिइन् ।