झापा । झापाको भद्रपुर नाकाबाट प्रतिबन्धित विष्फोटक पदार्थ (पटाका) भित्र्याउने क्रम जारी रहेको छ । तिहार तथा छठ पर्वलाई लक्षित गरी चोरी तस्करीको माध्यमबाट मंगलबार एकैदिन भित्र्याइएकाे सात लाखभन्दा बढीको पटाका सशस्त्र प्रहरीले बरामद गरेको हाे ।
बिहान ४ः३० बजे भद्रपुर ३ स्थित मेचीपारी सीमा इलाकामा ७ लाख ६६ हजार ८७६ रुपैयाँबराबरको पटाका बरामद भएको हो । टाउकोमा बोकेर पैदल ल्याउँदै गरेको १९ किसिमका ७ बोरा आतिसबाजी (पटाका) सशस्त्र प्रहरीले बरामद गरेको हो ।
सशस्त्र प्रहरीको २ गण हेडक्वाटर झापाबाट खटिएको मोबाइल गस्ती टोलीले उक्त पटाकाजन्य सामग्री बरामद गरेको थियो । प्रहरीलाई देखेर पटाका ल्याउने व्यक्तिहरु सामान छाडेर भागेको बताइएको छ ।
मंगलबार दिउँसो स्थानीय जनप्रतिनिधि, नेपाल प्रहरी र सञ्चारकर्मीहरुको रोहवरमा गण परिसरभित्र ती पटाका नष्ट गरिएको गणका सूचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक सुमन पोख्रेलले जानकारी दिए ।