झापा । झापामा इन्टरनेट विस्तारका लागि केबलको तार जडान गर्ने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी १ का १९ वर्षीय आशिष खनाल रहेका छन् ।

 

कमल गाउँपालिका ६ स्थित मंगलबारेमा फस्ट लिंक (वाईफाई) कम्पनीमा काम गर्ने खनाल कात्तिक ११ गते बिजुलीको पोलमा चढी केबलको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर भूइँमा झरेका थिए ।

 

करेन्ट लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि दमकस्थित आम्दा अस्पतालमा लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि विराटनगरको नोबेल अस्पतालमा भेन्टिलेटरमा राखी उपचार भइरहेको थियो ।

 

तर, चिकित्सकहरूले उनको स्वास्थ्य अवस्था अत्यन्त जटिल भएको भन्दै उपचार सम्भव नहुने जानकारी परिवारलाई गराएका थिए। त्यसपछि घर फर्काउने क्रममा हिजो उनको मृत्यु भएको हो ।

 

दमक अस्पतालमा गरिएको पोष्टमार्टमपछि सदगतको लागि मृतकको बुबाले शव बुझेर लगेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।